१९ बैशाख २०८२, शुक्रबार
Tags

बलात्कार मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएका फरार प्रतिवादी त्रिभुवन विमानस्थलमा पक्राउ

रणभूमी डेस्क बिहिबार, बैशाख १८, २०८२

काठमाडौं / जबरजस्ती करणी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएका फरार प्रतिवादी रबिन तामाङलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

दोलखा गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल निवासी बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदी अरबबाट नेपाल फर्किने क्रममा एनसिबि (नेशनल सेन्ट्रल ब्युरो) काठमाडौंबाट खटिएको प्रहरी टोलीले विमानस्थलबाटै पक्राउ गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका तामाङलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको अनुरोधमा एनसिबि काठमाडौंमार्फत इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा रेड नोटिस जारी गरिएको थियो।

पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपालमा अपराध गरेर विदेशमा लुकेका फरार व्यक्तिहरूलाई इन्टरपोलको सहयोगमा पक्राउ गर्ने अभियान निरन्तर जारी रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्