
रणभूमी डेस्क बुधबार, बैशाख २४, २०८२

विराटनगर / खाद्य सुरक्षा, जैविक खेतीपाती र कृषि क्षेत्रमा दिगो विकासको लागि “खाद्यका लागि कृषि अभियान” नामक संस्थाले “जैविक कृषि जागरण अभियान २०८२” थालेको छ। काठमाडौंबाट सुरु भएको यो अभियान तराई, मधेस र मध्यपहाडी क्षेत्रका पालिका, विद्यालय, समूह र कृषि फार्महरूमा पुग्नेछ। अभियानका अभियन्ताहरुले बुधवार विराटनगरमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रम को आयोजना गरी सो कुराको जानकारी गराएका हुन् ।
आयोजित पत्रकार भेटघाटमा अभियानकर्ताहरूले अहिलेको खेतीपाती प्रणाली, खाद्य सुरक्षा र वातावरणीय चुनौतीहरूबारे चिन्ता व्यक्त गरे। अभियानका प्रवक्ताले भने, “रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको छ। जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको अवस्था छ।”
अभियानका मुख्य नाराहरूमा “माटो नमारौं”, “किसानको आम्दानी बढाऔं”, “पानी विषालु नबनाऔं”, “रैथाने बीउ जोगाऔं”, “स्वच्छ खेती गरौं, स्वास्थ र अर्थतन्त्र सुधारौं” लगायत समावेश छन्।
अभियानकर्ताहरूले कृषि नीति र संघीय ऐन अझै पनि बन्न नसकेको, खाद्य अधिकार र संम्प्रभुता ऐन नियम बने पनि कार्यर्यान्वयनमा नआएको बताए। “आधुनिक र व्यवसायिकका नाममा बाहिरी रासायनमा निर्भर खेतीपातीको बाटो गलत हो। यो फेर्नु आवश्यक छ,” अभियानकर्ताहरूले जोड दिए।
किसानलाई केन्द्रमा राखी, नेपालको स्थानीय विशेषतामा आधारित, प्रकृतिसँग समन्वय गर्ने खेती प्रणालीको विकास गर्ने अभियानको उद्देश्य रहेको छ। विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको कृषि, खाद्य, भूमि र जलवायु सम्बन्धी अधिकारको सुनिश्चितता गर्ने अभियानको लक्ष्य छ।
“जैविक खेतीपाती अपनाएर हामी माटोको उर्वरता बढाउन, पानीको प्रदूषण घटाउन, र स्वस्थ खाद्यान्न उत्पादन गर्न सक्छौं। यसले किसानको आम्दानी बढाउन पनि मद्दत गर्दछ।”
अभियानकर्ताहरूले सबै तहका सरकार, नागरिक समाज, सञ्चार माध्यम र किसान समुदायलाई एकताबद्ध रूपमा यस अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
यो अभियानले खेतबारीदेखि भान्सासम्म दिनरात खट्ने किसान, विशेषतः महिलाहरूको योगदानलाई सम्मान गर्दै, विषमुक्त, पोषणयुक्त खाना सबैलाई र सधैंका लागि उपलब्ध गराउने लक्ष्य राखेको छ।