
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

विराटनगर / जनता समाजवादी पार्टी, नेपाल मोरङ जिल्ला समितिले आगामी बैशाख २९ र ३० गते जिल्लाको प्रथम अधिवेशन आयोजना गर्ने भएको छ। विराटनगरस्थित मारवाडी सेवा सदनमा हुने अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको पार्टीका प्रवक्ता राकेश रोशन यादवले जानकारी दिए।
पार्टीको सांगठनिक सुदृढीकरण, वैचारिक स्पष्टता र नेतृत्व पुनर्गठनका लागि महत्वपूर्ण मानिएको यस अधिवेशनमा जिल्लाभित्रका १७ मध्ये ११ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी पालिकाहरूमा पनि अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।
अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष एवं भूतपूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत केन्द्रीय नेताहरू, प्रदेश प्रतिनिधि तथा स्थानीय नेताहरूको उपस्थिति रहने जानकारी दिइएको छ। अधिवेशनमा करिब ६०० प्रतिनिधि, ५० पर्यवेक्षक तथा खुला सत्रमा ५ हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।
अधिवेशनलाई व्यवस्थित बनाउन राजकुमार यादवको संयोजकत्वमा ८१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। त्यसैगरी प्रचारप्रसार, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, स्वयंसेवक परिचालन, जन परिचालन, आवास व्यवस्थापन र स्वास्थ्य उपचार गरी आठ उपसमिति निर्माण गरिएको छ।
“जनताको पक्षमा सशक्त राजनीतिक हस्तक्षेप गर्न सक्ने नेतृत्व निर्माणका लागि यो अधिवेशन महत्वपूर्ण मञ्च बन्नेछ भन्ने हामीलाई दृढ विश्वास छ,” प्रवक्ता यादवले विज्ञप्तिमार्फत भनेका छन्।