२६ बैशाख २०८२, शुक्रबार
Tags

प्रहरीद्वारा ८ केजी ५२० ग्राम अफिम नष्ट

रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

जाजरकोट / जाजरकोट जिल्लामा प्रहरीले विगत दिनमा बरामद गरेको ८ केजी ५२० ग्राम अवैध लागुऔषध (अफिम) आज नष्ट गरिएको छ।

मिति २०८२ बैशाख १५ गते बिहान जाजरकोट भेरी नगरपालिका वडा १ रिम्ना बजारस्थित जाजरकोट-डोल्पा सडक खण्डमा नियमित चेकजाँचको क्रममा कर्णाली प्रदेश ०२००१ च. ११४५ नम्बरको बोलेरो जिपबाट उक्त परिमाणको लागुऔषध बरामद गरिएको थियो।

बरामद लागुऔषध नलगाड नगरपालिकाका तीन जना व्यक्तिहरूबाट बरामद भएको थियो। नलगाड नगरपालिका वडा नं. ९ का ३० वर्षीय दिपक सिंहबाट ३ केजी, वडा नं. ७ का २३ वर्षीय सुरेश सिंहबाट ३ केजी र वडा नं. ३ का ५३ वर्षीय विष्णु बहादुर घर्तिबाट २ केजी ५२० ग्राम अफिम बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

उक्त लागुऔषध नेपालगञ्ज लैजाने क्रममा रहेका सवारी चालक हरि बानियासहित उक्त व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बरामद लागुऔषध आज जाजरकोट जिल्ला अदालतका प्रतिनिधि ना.सु. छबिलाल गिरी, जिल्ला प्रशासन कार्यालय जाजरकोटका खरिदार नविन कुमार सिंह र भेरी नगरपालिका जाजरकोटका जनस्वास्थ्य निरीक्षक (स्वास्थ्य शाखा प्रमुख) दिप बहादुर वलीको रोहबरमा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ।

प्रहरीका अनुसार पछिल्लो समयमा जाजरकोट क्षेत्रमा लागुऔषध ओसारपसार बढेको पाइएकोले निगरानी बढाइएको छ। लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको प्रहरी स्रोतले बताएको छ।

यहाँ कमेन्ट गर्नुहोस्