०१ आषाढ २०८२, सोमबार
Tags

सुनचाँदीको जलप गहना बोकेर भारत जाँदै गरेका दुई जना सशस्त्र प्रहरीको फन्दामा

पवन शाह सोमबार, आषाढ ०१, २०८२

ईलाम / इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले झण्डै ३३ लाख रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएको गहनासहित दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

आइतबार पक्राउ परेकाहरू भारतको हिमाञ्चल प्रदेश घर भएका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। उनीहरूलाई सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म, पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गर्दा उनीहरूलाई शंका लागि जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएको गहना तथा विभिन्न प्रकारका मालाहरू बरामद गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

बरामद गरिएका गहनाको परीक्षण सुनचाँदी व्यवसायी संघ, बिर्तामोड झापामा गरिएकामा ती जलप लगाएको गहना रहेको प्रमाणित भएको हो।

हाल उनीहरूलाई बरामद सामानसहित थप अनुसन्धानको लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्