१४ कार्तिक २०८२, शुक्रबार
Tags

भारत–नेपाल सीमा समन्वय बैठक जोगबनीमा सम्पन्न, सुरक्षा सहयोग सुदृढीकरणमा जोड

रणभूमी सम्वाददाता बिहिबार, कार्तिक १३, २०८२

जोगबनी / मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको नेतृत्वमा नेपाली सुरक्षा निकायको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार भारतीय सुरक्षा निकायसँग द्विपक्षीय समन्वय बैठकमा भाग लिएको छ।

आईसीपी गेट जोगबनीस्थित सशस्त्र सीमा बल (एसएसबी) ५६ औं वाहिनी बथनाहामा बिहान १० बजेदेखि दिउँसो १२:३० बजेसम्म आयोजित बैठकमा नेपालतर्फबाट जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेबे, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण टंकी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे, र राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) का एसपी राजन शर्मा सापकोटा सहभागी थिए।

भारततर्फबाट एसएसबी पूर्णिया सेक्टरका डिआईजी राजेश टिक्कू, पूर्णिया रेञ्जका डिआईजी प्रमोद मण्डल (आईपीएस), अररिया जिल्लाका प्रहरी पर्यवेक्षक सुरेश चाँदिवे (आईपीएस) एसएसबी ५२ बटालियन कमण्डेन्ट महेन्द्र प्रताप सिंह लगायतका अधिकारीहरू उपस्थित थिए।

महत्वपूर्ण विषयमा छलफल

दुवै देशका राष्ट्रिय गानपछि सुरु भएको बैठकमा सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा छलफल भएको छ। सीमाना सिल गर्ने व्यवस्था, फरार कैदीहरूको फोटो साटासाट, लागुऔषध व्यापार नियन्त्रण, अपराधका प्रवृत्तिहरू, संवेदनशील क्षेत्रहरूको पहिचान, र कट्टरपन्थी गतिविधिका संकेतहरू बैठकका प्रमुख एजेण्डा रहेका थिए।

बैठकमा विशेष गरी निर्वाचन मितिभन्दा ७२ घण्टा अघि सीमाना सिल गर्दा एलपीएआई व्यापारिक मार्ग पनि बन्द गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट निर्देशनको आवश्यकता औंल्याइएको छ। यस सम्बन्धमा सम्बन्धित निकायबाट औपचारिक निर्देशन माग गरिएको छ।

सुरक्षा सहयोगमा जोड

बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र दुवै देशका सुरक्षा निकायबीच सहयोग र समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति जुटेको प्रजिअ यादवको कार्यालयले जनाएको छ।

भारततर्फबाट अररिया जिल्ला प्रहरी प्रमुख, ५२ औं वाहिनीका कमाण्डेन्ट, विभिन्न थानाका एसएचओहरू, निर्वाचन कम्पनीका एडहक कमाण्डेन्ट र कम्पनी कमाण्डरहरूका साथै भन्सार, आव्रजन, एसबी, एसआईबी र रेलवे विभागका प्रतिनिधिहरू बैठकमा सहभागी थिए।

यस्तो द्विपक्षीय समन्वय बैठकले दुवै देशबीचको सीमा सुरक्षा र शान्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्