रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२
काठमाडौँ / विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न नेपाली कांग्रेसका शीर्ष नेता निर्वाचन आयोग पुगेका छन्। सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आयोगमा पुगेका हुन्।
बिहान बसेको केन्द्रीय समिति बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोही बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ताको जिम्मेवारी पनि दिएको छ।
पहिलो बैठकमा आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीसहित विभिन्न समसामयिक विषयमा छलफल भएको बताइएको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइसकेकाले आवश्यक कागजात अद्यावधिक गर्न आज निर्वाचन आयोगमा औपचारिक निवेदन दिने तयारी गरिएको छ।
नेतृत्वले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र त्यसबाट नयाँ पदाधिकारी तथा केन्द्रीय समिति चयन भएको जानकारी आयोगलाई गराउनेछ। बुधबार राति सम्पन्न विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको थियो।
निर्वाचन आयोगले निवेदन स्वीकार गरी विवरण अद्यावधिक गरेपछि नयाँ नेतृत्व वैधानिक रूपमा नेपाली कांग्रेसका रूपमा मान्यता पाउनेछ।