पवन कुमार शाह मंगलबार, आषाढ १६, २०८३
कुनै पनि समाजको विकास एक्कासि हुँदैन। त्यसका लागि स्पष्ट दृष्टि, दीर्घकालीन सोचसहित र योजनाबद्ध रूपमा लामो समय काम गर्नुपर्दर्छ । यही सत्यलाई आत्मसात् गर्दै मोरङको धनपालथान गाउँपालिका आवधिक योजनामार्फत समृद्ध, आत्मनिर्भर र समावेशी भविष्य निर्माणको यात्रामा अघि बढिरहेको छ।
साविकका नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविस मिलेर बनेको धनपालथान गाउँपालिका कृषिमा आधारित अर्थतन्त्र, नेपाल–भारत सीमासँगको निकटता तथा हिन्दु, मुस्लिम र इसाई समुदायको सहअस्तित्वका कारण विशिष्ट स्थानीय तहका रूपमा परिचित छ। यही सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र सामाजिक विकासलाई विकासको मुख्य आधार बनाएको छ।
यही सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने आधारका रूपमा गाउँपालिकाले आवधिक योजनालाई अघि सारेको छ। यो योजना केवल सरकारी औपचारिकता होइन, गाउँपालिकाले आगामी वर्षहरूमा कुन दिशामा अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र हो।
स्थानीय सरकार गठनपछि धनपालथानमा विकासको गति क्रमशः बढ्दै गएको देखिन्छ। खानेपानीको पहुँच विस्तार, बर्थिङ सेन्टरमार्फत सुरक्षित मातृत्व सेवा, विपद् व्यवस्थापनमा पूर्वतयारी, युवाका लागि लोकसेवा तयारी कक्षा, सीपमूलक तालिम, महिला सशक्तीकरण, कृषि तथा सिँचाइमा लगानी, बजार व्यवस्थापन र सडक पूर्वाधारमा भएका कामले गाउँपालिकाले विकासलाई बहुआयामिक रूपमा अघि बढाइरहेको संकेत दिएका छन्। यी सबै कार्यक्रमलाई एउटै लक्ष्यमा जोड्ने आधार भनेको आवधिक योजना नै हो।
गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार विकासलाई केवल भौतिक पूर्वाधार निर्माणका रूपमा हेर्नुहुन्न। उहाँका अनुसार स्थानीय सरकारको वास्तविक सफलता नागरिकको जीवनमा आएको परिवर्तनबाट मापन हुनुपर्छ।
’हामी आत्मनिर्भर धनपालथान निर्माण गर्ने लक्ष्यसहित अघि बढेका छौं। कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र रोजगारलाई एकीकृत रूपमा विकास गर्न सके मात्र गाउँपालिकाको समृद्धि सम्भव हुन्छ।’ उहाँ अगाडि भन्नुहुन्छ, ’खानेपानीमा गरिएको लगानी नागरिकको स्वास्थ्यमा गरिएको लगानी हो। त्यसैले सबै वडामा सुरक्षित खानेपानीको पहुँच, आधुनिक कृषि, महिला उद्यमशीलता र युवालाई अवसरसँग जोड्ने योजनालाई आवधिक योजनाको केन्द्रमा राखेका छौं।’
अध्यक्ष गच्छदारको भनाइले गाउँपालिकाले उत्पादनमुखी विकासलाई प्राथमिकता दिएको स्पष्ट देखाउँछ। कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, साना उद्योगको प्रवर्द्धन र युवालाई गाउँमै अवसर सिर्जना गर्ने लक्ष्य गाउँपालिकाको दीर्घकालीन सोचसँग जोडिएको छ।
धनपालथानमा हिन्दु, मुस्लिम, इसाई लगायत विभिन्न समुदायका नागरिक यहाँ आपसी सद्भावका साथ बसोबास गर्छन्। गाउँपालिकाले यही सामाजिक एकतालाई विकासको बलियो आधार मानेको छ।
उपाध्यक्ष नसिमा बानोका अनुसार विकासको अर्थ केवल सडक र भवन निर्माण होइन, समाजमा नैतिकता, शिक्षा, महिला सशक्तीकरण र सांस्कृतिक चेतनाको विकास पनि हो।
उहाँ भन्नुहुन्छ, ’विकास भनेको सबै समुदायलाई साथ लिएर अघि बढ्नु हो। महिलालाई आत्मनिर्भर बनाउन, युवालाई सीप र रोजगारीसँग जोड्न, विपद्का लागि पूर्वतयारी गर्न र धर्म–संस्कृतिको संरक्षण गर्न गाउँपालिका प्रतिबद्ध छ।’
हामी गुरुकुल स्थापना, महिला उद्यमशीलता, सामाजिक समावेशीकरण र विपद् व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेका छौं। विपद् रोक्न सकिँदैन, तर पूर्वतयारी, योजना र नागरिकको सहभागिताबाट त्यसको क्षति धेरै कम गर्न सकिन्छ।”
उनको भनाइले गाउँपालिकाको विकास अवधारणामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समावेशी सोचले विशेष स्थान पाएको देखिन्छ। मदरसा, चर्च र प्रस्तावित गुरुकुललाई प्रतिस्पर्धाको विषय नभई नैतिक शिक्षा र सांस्कृतिक संरक्षणको माध्यमका रूपमा हेर्ने दृष्टिकोण पनि यही सोचको हिस्सा हो।
योजना बनाउनु एउटा पक्ष हो भने त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अर्को चुनौती हो। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडा प्रशासनिक दक्षता, पारदर्शिता र योजनाबद्ध कार्यान्वयनलाई आवधिक योजनाको सफलताको आधार मान्छिन्।
उहाँ भन्नुहुन्छ, “हामी आवधिक योजनालाई कागजमा सीमित राख्न चाहँदैनौं। बजेट, कार्यक्रम र कार्यान्वयनबीच स्पष्ट समन्वय गरेर प्रत्येक योजनाको प्रभाव नागरिकसम्म पुर्याउने हाम्रो लक्ष्य हो। बजार व्यवस्थापन, सेवा प्रवाह, पूर्वाधार निर्माण र संस्थागत सुधारलाई योजनाबद्ध रूपमा अघि बढाइरहेका छौं।”
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट ५१ करोड १८ लाख ७३ हजार ३११ रुपैयाँ रहेको छ। बजेटले शिक्षा क्षेत्रलाई सबैभन्दा बढी १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्यमा ७० लाख, कृषि सिँचाइ व्यवस्थापनमा ७५ लाख, कृषि र पशुपन्छी विकासमा २५–२५ लाख, ऊर्जा क्षेत्रमा ८० लाख, सिँचाइका लागि ट्रान्सफर्मर तथा एलईडी बत्ती विस्तारमा ५० लाख, विपद् व्यवस्थापन र लक्षित वर्गका कार्यक्रमका लागि २०–२० लाख तथा आधारभूत अस्पताल निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। खानेपानी तथा सरसफाइ, सामाजिक विकास, सूचना प्रविधि, न्यायिक समिति, फोहोरमैला व्यवस्थापन र अत्यावश्यक विपद् केन्द्र निर्माणका लागि समेत छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको छ। संघ र प्रदेश सरकारसँगको समपुरक तथा विशेष अनुदानमार्फत ठूला आयोजना अघि बढाउने रणनीतिले स्थानीय स्रोतलाई बाह्य लगानीसँग जोड्ने प्रयास गरेको देखिन्छ।
धनपालथान कृषि प्रधान गाउँपालिका हो। अधिकांश परिवारको मुख्य आम्दानी खेतीपाती र पशुपालनबाट हुन्छ। त्यसैले आवधिक योजनाले कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, कृषि यान्त्रीकरण, पशुपालन प्रवर्द्धन, उत्पादनको भण्डारण तथा बजारीकरणलाई विशेष महत्व दिएको छ। यदि यी योजना प्रभावकारी रूपमा कार्यान्वयन भए कृषकको आम्दानी वृद्धि हुनुका साथै गाउँपालिकाको अर्थतन्त्र पनि बलियो बन्ने अपेक्षा गर्न सकिन्छ।
शिक्षा र स्वास्थ्यलाई पनि गाउँपालिकाले समान प्राथमिकतामा राखेको छ। विद्यालयको गुणस्तर सुधार, सीपमूलक शिक्षा, लोकसेवा तयारी कक्षा, स्वास्थ्य चौकीको स्तरोन्नति, बर्थिङ सेन्टर सेवा, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा र स्वास्थ्य सचेतनाका कार्यक्रमले मानव विकासलाई केन्द्रमा राखेको स्पष्ट हुन्छ।
बजेटको अर्को रोचक पक्ष भनेको विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित नराखी शिक्षा, कृषि, ऊर्जा, स्वास्थ्य र विपद् व्यवस्थापनलाई समान प्राथमिकतामा राख्नु हो। उत्पादनसँग जोडिने कृषि र सिँचाइ, मानव विकाससँग जोडिने शिक्षा र स्वास्थ्य तथा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने विपद् व्यवस्थापनमा गरिएको लगानीले आवधिक योजनाका लक्ष्यसँग बजेटको तालमेल मिलेको देखिन्छ। यद्यपि, बजेटको ठूलो हिस्सा प्रशासनिक तथा सञ्चालन खर्चतर्फ गएको पनि देखिन्छ। गाउँपालिकाले प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउँदै विकासतर्फ विनियोजन गरिएको बजेटको पूर्ण कार्यान्वयन गर्न सके मात्र यसले अपेक्षित प्रतिफल दिन सक्छ। त्यसैले यो बजेटको सफलता रकमको आकारले होइन, कार्यान्वयनको गुणस्तरले निर्धारण गर्नेछ।
धनपालथानको आवधिक योजना केवल सरकारी दस्तावेज होइन, किसानको आशा, युवाको सपना, महिलाको आत्मनिर्भरता, विद्यार्थीको भविष्य र समग्र गाउँपालिकाको समृद्धिको साझा प्रतिबद्धता हो। योजनाको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीचको सहकार्य उत्तिकै आवश्यक छ।
अन्ततः विकास भनेको केवल सडक, पुल र भवन निर्माण होइन। विकास भनेको नागरिकको अनुहारमा देखिने आत्मविश्वास, युवाको आफ्नै गाउँमा देखिने भविष्य, किसानको उत्पादनको उचित मूल्य, महिलाको आर्थिक स्वतन्त्रता, बालबालिकाको गुणस्तरीय शिक्षा र समाजमा कायम हुने सद्भाव हो। धनपालथान गाउँपालिका आज त्यही भविष्यको आधार तयार गर्ने यात्रामा छ। आवधिक योजनाका लक्ष्यहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके धनपालथान आगामी वर्षहरूमा योजनाबद्ध विकास, सुशासन, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक सद्भावको उत्कृष्ट नमुना स्थानीय तहका रूपमा स्थापित हुने बलियो आधार देखिन्छ।
यद्यपि, धनपालथान गाउँपालिकाले विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय पहल गरिरहेको भए पनि केही विषयमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। आवधिक योजना प्रभावकारी बन्न कागजमा उल्लेख भएका लक्ष्यहरू समयमै कार्यान्वयन हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हो। त्यसका लागि प्रत्येक योजनाको स्पष्ट कार्यतालिका, नियमित अनुगमन र सार्वजनिक मूल्याङ्कन प्रणालीलाई अझ बलियो बनाउन आवश्यक देखिन्छ।
कृषि क्षेत्रलाई समृद्धिको आधार बनाउने लक्ष्यलाई सार्थक बनाउन किसानलाई उत्पादनमा मात्र होइन, बजारीकरण, भण्डारण, प्रशोधन उद्योग र कृषि बीमासँग जोड्ने दीर्घकालीन कार्यक्रम आवश्यक छ। स्थानीय उत्पादनलाई ‘धनपालथान ब्रान्ड’का रूपमा स्थापित गर्न सके कृषकको आम्दानीमा उल्लेखनीय वृद्धि हुन सक्छ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षण, सूचना प्रविधिमैत्री कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा प्राविधिक शिक्षामा थप लगानी गर्नुपर्ने आवश्यकता छ। युवाहरूलाई लोकसेवा तयारी कक्षामा मात्र सीमित नराखी सूचना प्रविधि, डिजिटल उद्यमशीलता र स्टार्टअप प्रवर्द्धनसँग जोड्न सके गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुग्नेछ।
स्वास्थ्य सेवामा बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै विशेषज्ञ स्वास्थ्य शिविर, टेलिमेडिसिन सेवा तथा ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि घरदैलो स्वास्थ्य सेवा विस्तार गर्न सकिए नागरिकले थप प्रत्यक्ष लाभ लिन सक्नेछन्।
विपद् व्यवस्थापनमा गाउँपालिकाले थालेका पूर्वतयारीका कार्यक्रम प्रशंसनीय छन्। अब प्रत्येक वडामा विपद् सामग्री भण्डारण केन्द्र, नियमित मोक ड्रिल (अभ्यास), विद्यालयस्तरमा विपद् शिक्षा तथा आधुनिक पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनु समयको आवश्यकता देखिन्छ।
बजार व्यवस्थापनमा कर्सिया बजारलाई व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्न आधुनिक तरकारी तथा कृषि बजार, पार्किङ स्थल, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन, डिजिटल बजार अनुगमन र सीसीटीभी प्रणाली विस्तार गर्न सके बजार अझ व्यवस्थित र सुरक्षित बन्न सक्छ।
त्यसैगरी गाउँपालिकाले डिजिटल सुशासनलाई अझ प्रभावकारी बनाउँदै सबै सार्वजनिक खर्च, योजना प्रगति, ठेक्का प्रक्रिया र सेवा प्रवाहलाई नागरिकले सहजै हेर्न सक्ने खुला सूचना प्रणाली विकास गर्न सके पारदर्शिता र जनविश्वास अझ बलियो बन्नेछ।
आवधिक योजना सफल हुने वा नहुने कुरा योजना कति राम्रो छ भन्नेभन्दा पनि त्यसको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्नेमा निर्भर गर्छ। त्यसैले जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच निरन्तर सहकार्य, पारदर्शिता र उत्तरदायित्व कायम गर्न सके धनपालथानले आफ्नो “समृद्ध, आत्मनिर्भर र सुशासित गाउँपालिका” बनाउने लक्ष्यलाई निश्चित रूपमा हासिल गर्न सक्ने विश्वास गर्न सकिन्छ।
आवधिक योजना एउटा दस्तावेज मात्र होइन, भावी पुस्ताप्रतिको प्रतिबद्धता पनि हो। आज बनाइने सही योजना र त्यसको इमानदार कार्यान्वयनले नै भोलिको धनपालथानलाई समृद्ध, सुरक्षित र उदाहरणीय गाउँपालिकाका रूपमा स्थापित गर्नेछ।