रणभूमी सम्वाददाता मंगलबार, साउन ०५, २०८३
विराटनगर / पछिल्लो समय भन्सार छलीका सामान गन्तव्यसम्म पुर्याउन कुरियर सेवाको दुरुपयोग बढ्दै गएको पाइएको छ। मोरङमा सशस्त्र प्रहरी बलले गरेको कारबाहीका क्रममा विभिन्न कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेका लाखौं रुपैयाँ बराबरका अवैध सामान बरामद भएपछि यस्तो प्रवृत्ति उजागर भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामानहरू नेपाल क्यान, साँझा, उपाय, त्रिशक्ति एरामक्स र फास्ट कन्ट्याक्ट लगायतका कुरियर सेवामार्फत विभिन्न गन्तव्यमा पठाउन तयारी अवस्थामा रहेको फेला पारेको जनाएको छ।
कारबाहीका क्रममा बिलबिजकविहीन रु. ५ लाख ८० हजार २८० बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामग्री नियन्त्रणमा लिइएको छ। यसअघि भारतबाट सिटी सफारीमा लोड गरी ल्याइँदै गरेको रु. ३ लाख ५० हजार बराबरको लत्ताकपडा पनि प्रहरीले बरामद गरेको थियो।
त्यसैगरी, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले विभिन्न स्थानबाट रु. ५ लाख ५२ हजार ४६० बराबरका औषधि, स्कुटर, सिटी सफारी तथा कागती बरामद गरेको छ।
बरामद गरिएका सामान, सवारी साधन र एक व्यक्तिसहित जम्मा रु. १४ लाख ८६ हजार ४८० बराबरको सामग्री आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छलीका सामान सिधै बजारमा नपठाई कुरियर सेवामार्फत देशका विभिन्न जिल्लामा पठाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले वैध व्यापारलाई असर पुर्याउनुका साथै राजस्व चुहावटसमेत बढाउने भएकाले सम्बन्धित निकायले यस्ता गतिविधिमाथि निगरानी कडा बनाएको जनाएको छ।