०६ पुष २०८२, आइतबार
Tags

सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

रणभुमी डेस्क बिहिबार, चैत्र २८, २०८१

काठमाडौं / सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग निवासी २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार पक्राउ गरेको छ।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पीडित युवतीको उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरेको हो। पीडितका अनुसार, सामाजिक सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेका बेला पीडितले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध विच्छेद भएपछि प्रेमीको साथीले दुरुपयोग गरेको आरोप छ।

आरोपित अधिकारीले उक्त भिडियो प्रयोग गरी पीडितसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेमा भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिई मानसिक यातना दिएको पीडितको उजुरीमा उल्लेख गरिएको छ।

अधिकारीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

साइबर अपराध र डिजिटल ब्ल्याकमेलिङका घटनाहरू नेपालमा बढ्दो क्रममा रहेका छन्। प्रहरीले यस्ता अपराधहरूमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन कडाइका साथ कारवाही गर्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्