
रणभूमी डेस्क शनिबार, बैशाख ०६, २०८२

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा हालसम्म २० जना सञ्चालक पक्राउ परेका छन् भने ४६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाका सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। तीमध्ये तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।
घलेका अनुसार बनेपाको पुण्यश्वरी सहकारीले रु तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीले रु १४ करोड र युनिटी सहकारीले रु तीन करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीसम्बन्धी उजुरी तथा जाहेरी पछिल्ला केही महिनादेखि बढ्दै गएको जानकारी दिए। “सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजीकार्य भइरहेको छ,” उनले भने।
बाँकी चार सहकारीको अनुसन्धान जारी रहेको र थप केही सहकारीविरुद्ध पनि ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।