
रणभूमी डेस्क शनिबार, बैशाख २७, २०८२

विराटनगर / विराटनगरको हाटखोला खेल मैदानमा शुक्रवार आयोजित प्रख्यात गायक दुर्गेश थापाको पहिलो लाइभ कन्सर्टमा अपेक्षित दर्शक संख्या जुट्न नसकेको पाइएको छ। व्यापक प्रचारप्रसार गरिएको भए पनि कार्यक्रमले दर्शक आकर्षित गर्न सकेन।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पानस बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन पश्चात् शुभकामना मन्तव्यका क्रममा कोइरालाले मञ्चमा पुग्ने बित्तिकै “कति थोरै मान्छे उपस्थित भएको कार्यक्रम” भनी सम्बोधन गरेका थिए।
कार्यक्रमका लागि मञ्च अगाडिको कुर्सीमा बसेर सांगीतिक प्रस्तुति अवलोकन गर्ने दर्शकका लागि प्रवेश शुल्क रु.१०००/- तोकिएको थियो भने साधारण प्रवेशका लागि रु.२००/- निर्धारण गरिएको थियो।
विराटनगर महानगरपालिका मुख्य प्रवर्धक रहेको उक्त कार्यक्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। कार्यक्रम तोकिएकै समयमा शुरु भए पनि दुर्गेश थापाको सांगीतिक प्रस्तुति भने राति ९:३५ बजे मात्र शुरु भएको थियो।
थापाको प्रस्तुति शुरु भएपछि कार्यक्रमको मुख्य गेट खुला गरिएको थियो, जसका कारण केही भिड देखिएको थियो। कार्यक्रमका प्रायोजक एक इनर्जी ड्रिंकका क्यानहरू थापाले दर्शकहरू माझ फ्याँकेर वितरण गरेपछि दर्शकहरू मञ्चतर्फ लम्किएका थिए। यही क्रममा एक व्यक्तिको निधारमा इनर्जी ड्रिंकको क्यानले लागेर घाइते समेत भएको थियो।
दर्शकहरू मञ्चमा चढ्न खोज्दा थापालाई कार्यक्रम सहज रूपमा सञ्चालन गर्न र सुरक्षा व्यवस्था कायम राख्न प्रहरी तथा सुरक्षागार्डहरूलाई निकै कठिनाइ परेको थियो।