०८ आषाढ २०८२, सोमबार
Tags

‘छुट्टै संसार’: बदल थापाको स्वरमा प्रेम, पीडा र जीवनको कथा

पवन शाह आइतबार, आषाढ ०७, २०८२

काठमाण्डौ / नेपाली संगीत क्षेत्र एकपटक फेरि नयाँ भाव र प्रस्तुति सहितको गीत ‘छुट्टै संसार’ मार्फत समृद्ध हुँदैछ। बदल थापाको भावपूर्ण स्वरमा सजिएको यस गीतले प्रेम, सम्बन्धको टुटन र त्यसपछि जन्मिएको नयाँ संसारको अनुभूतिको कलात्मक चित्रण प्रस्तुत गरेको छ।

गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना सुन्न पाइन्छ भने संगीत पनि तिखत्री कै रहेको छ। विशाल निरौलाले संगीत संयोजन गरेका छन्, र मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी रञ्जन राईले लिएका छन्। गीतको रेकर्डिङ अलंकार स्टुडियोमा सम्पन्न भएको हो।

भिडियो पक्षमा पनि गीतले उत्तिकै सशक्त उपस्थिति जनाएको छ। पुरू भण्डारी, बिनिता दाहाल र दिनेश काठायत काजीको अभिनयले गीतको भावनात्मक कथा जीवन्त पारेको छ। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका छन् भने छायांकन उमेश बहादुर शाहले गरेका हुन्। सम्पादन तथा रङ संयोजन पदम सुवेदीको छ, जसले दृश्यात्मक प्रभावलाई थप उचाइमा पुर्‍याएको छ।

भिडियोको पोस्टर डिजाइनमा सुबास शाह र लक्ष्मण चौहानको योगदान रहेको छ। ‘छुट्टै संसार’ को निर्माण मुकेश सुवेदीले गरेका हुन्, र युट्युबमार्फत ‘मुकेश सुवेदी अफिसियल’ च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतले विशेषगरी युवा पुस्ताको प्रेमजीवनमा आइपर्ने चुनौती, पीडा र सम्बन्धको पुनः परिभाषालाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेको छ। सामाजिक सञ्जालहरूमा गीत र भिडियो दुवैप्रति दर्शकहरूले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।

‘छुट्टै संसार’ केवल गीत मात्र होइन, एउटा कथा हो — जुन सुन्ने र हेर्ने दुबै दृष्टिकोणबाट नेपाली संगीतमा नयाँ स्वाद र संवेदना ल्याउने प्रयास हो।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यहाँ कमेन्ट गर्नुहोस्