
पवन शाह मंगलबार, साउन २०, २०८२

विराटनगर / कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लामा सिलसिलेवार रूपमा भइरहेको विद्युत ट्रान्सफर्मर चोरी घटनामा संलग्न समूहको प्रहरीले पर्दाफास गरेको छ। ट्रान्सफर्मर चोरीका कारण विद्युत आपूर्ति अवरुद्ध भई कृषि कार्य प्रभावित भइरहेका बेला प्रहरीले अनुसन्धान गरी १२ जना व्यक्तिहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ट्रान्सफर्मर चोरीमा संलग्न ६ जना र चोरी गरिएको सामग्री किन्ने ६ व्यापारीहरू रहेका छन्। पक्राउ परेकाहरूको साथबाट करिब ३६८.५ केजी तामाको तार, विभिन्न साइजका औजारहरू, १२ थान मोबाइल, पाँचवटा मोटरसाइकल र एकवटा पिकअप गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा भएका चोरी घटनामा २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए। यी ट्रान्सफर्मर २५ केभिए देखि २५० केभिए क्षमताका थिए। प्रारम्भिक अनुमान अनुसार ट्रान्सफर्मर र तार चोरीका कारण अन्दाजी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित ट्रान्सफर्मर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यही आधारमा अनुसन्धान अघि बढाइएपछि संगठित गिरोह पक्राउमा परेको हो।
प्रहरीले प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वयमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूसँगको सहकार्यमा सादा पोशाकमा ३५ जना बढी प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेकाहरू उपर विद्युत चोरीसम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीले बताए।