रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२
काठमाडौं / विशेष महाविधेशनमार्फत पार्टीको वैधानिकता लिने तयारीमा रहेको गगन थापा समूहलाई ‘मूल कांग्रेस’मै फर्किन नेता डा. शेखर कोइरालाले आह्वान गरेका छन्। बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनले पार्टीभित्र देखिएका विषयवस्तुको समीक्षा मूल घरभित्रै हुनुपर्ने बताएका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, “म आह्वान गर्छु, हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ कसैको जीत वा हार छैन। सबैका लागि विन–विन हुने अवस्थामा अघि बढ्न सकिन्छ।”

कांग्रेस विभाजन गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न षड्यन्त्र भएको उल्लेख गर्दै त्यसलाई रोक्न आफूहरू असफल भएको कोइरालाको भनाइ छ। यसबीच घटेका विभिन्न घटनाको वस्तुगत समीक्षा र त्यसमा व्यक्तिहरूको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहासलाई सुम्पने उनले बताएका छन्।
“देखिएका र नदेखिएका अनेक अन्तरविरोधका बीच हामी यो समय गुज्रियौं,” उनले भनेका छन्, “राजधानीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पार्न खोज्ने स्वार्थलाई हामीले रोक्न सकेनौं।”
कांग्रेस विभाजनको प्रसंगमा उनले बीपी कोइरालालाई पनि स्मरण गरेका छन्। बीपीलाई जीउज्यानको बाजी लगाएर साथ दिने लाखौं कार्यकर्ता लोकतन्त्रको संघर्षमा अडिग रहे पनि केही व्यक्ति र समूह पार्टी छाडेर गएको उल्लेख गर्दै उनले बीपीले यसलाई ‘नियतिको खेल’ भन्ने गरेको उद्धृत गरेका छन्।