०१ माघ २०८२, बिहिबार
Tags

घोषणापत्र गगनको जिम्मा, चुनाव परिचालन विश्वप्रकाशको नेतृत्वमा

रणभूमी सम्वाददाता बिहिबार, माघ ०१, २०८२

काठमाडौँ / नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी औपचारिक रूपमा अघि बढाएको छ।

बिहीबार काठमाडौँमा बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको निर्वाचन घोषणापत्र तयार पार्न समिति गठन गर्ने निर्णय गरेको छ। घोषणापत्र लेखन समितिको नेतृत्व सभापति गगन थापाले गर्ने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

यसैगरी, निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय बैठकले गरेको छ। बैठकले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधनका लागि तत्काल निर्वाचन आयोग जाने निर्णय पनि गरेको छ।

यसबीच, नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा पक्षको कदमलाई पार्टी विधानविपरीत र अनुशासनहीन भएको आरोप लगाएको छ। बुधबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गर्नु पार्टी नीतिविपरीत भएको निष्कर्ष निकाल्दै गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्