२३ माघ २०८२, शुक्रबार
Tags

पहिलो दिनमै इन्स्पेक्टर गौतमको एक्सन, कारागारभित्रको लागुऔषध तस्करी भयो पर्दाफास

रणभूमी सम्वाददाता शुक्रबार, माघ २३, २०८२

विराटनगर / मोरङ कारागारमा इन्चार्जको जिम्मेवारी सम्हालेको पहिलो दिनमै सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमले कडा सन्देश दिएका छन्। कारागारभित्र लागुऔषध भित्र्याउने प्रयास तत्कालै विफल पारिएको छ।

माघ २२ गते बिहीबार साँझ करिब ५ बजे, बाल सुधार गृहमा भेटघाटका लागि आएका एक युवक शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उर्लाबारी नगरपालिका–७ का १९ वर्षीय विष्णु पौदारको पाइन्ट र ज्याकेटको गोजीबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक गौतमको नेतृत्वमा कारागारको मुख्य गेटमा खटिएको टोलीले २५० गोटा सेतो ट्याब्लेट, २६६ गोटा हरियो क्याप्सुल, नगद १५ हजार ६ सय रुपैयाँ, दुई थान मोबाइल फोन र एक थान अतिरिक्त सिम कार्ड बरामद गरेको छ।

पौदार बाल सुधार गृहमा रहेका विवेक पराजुलीलाई भेट्न आएको बहानामा लागुऔषध भित्र्याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इन्स्पेक्टर गौतम लामो समय सीमावर्ती एरियामा खटेको हुनाले देशलाई खुकुलो बनाइरहेको लागुऔषध प्रति अत्यन्तै निर्मम भएर लागिपरेका व्यक्तिहुन जसले अब कारागार भित्र बसुन्जेल लागुऔषध को कारोवार गर्ने गिरोहको पार्दा फस् गरी कानुनी दायरामा ल्याउन प्रयासरत रहेका छन् ।

पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कारागारभित्र अनुशासन र सुरक्षामा कुनै सम्झौता नहुने सन्देश पहिलो दिनमै दिएको यो घटनालाई सुरक्षा निकायले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्