०७ चैत्र २०८२, शनिबार
Tags

मोरङको उर्लावारी र सुन्दर हरैचामा बर्ड फ्लु पुष्टि, प्रभावित क्षेत्रमा नियन्त्रण कार्य सुरु

रणभूमी सम्वाददाता शुक्रबार, चैत्र ०६, २०८२

बिराटनगर / मोरङ जिल्लाका दुई नगरपालिकामा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा-H5N1 अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार सुन्दरहरैचा नगरपालिका-०४ र उर्लाबारी नगरपालिका-०८ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मोलिकुलर विधिबाट परीक्षण गर्दा मिति २०८२ फागुन ४ गते बर्ड फ्लु रोग पुष्टि भएको हो।

रोग पुष्टि भएलगत्तै नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ६ गतेको निर्णयद्वारा उक्त क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ। बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम आकस्मिक रोग अन्वेषण टोलीको सिफारिसमा चार किल्ला क्षेत्र तोकी नियन्त्रण कार्य तत्काल सुरु गरिएको विभागले जनाएको छ।

प्रभावित क्षेत्रमा घरपालुवा पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी निःसंक्रमणको कार्य भइरहेको छ। रोग अन्यत्र नफैलियोस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायहरू परिचालित भएका छन्।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पन्छी पालक, फार्म सञ्चालक र आम जनतालाई सतर्कता अपनाउन आग्रह गरेका छन्। विभागले पन्छी फार्ममा अनावश्यक आवागमन नगर्न, फार्म प्रवेशमा निःसंक्रमणको अनिवार्य प्रयोग गर्न, मरेका पन्छीलाई सुरक्षित तरिकाले गाड्न र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारमा भेटेरिनरी प्रमाणपत्र अनिवार्य रूपमा लिन निर्देशन दिएको छ।

साथै फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा उपाय अपनाउनुपर्ने र स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न समेत अपिल गरिएको छ। अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवा निकायमा जानकारी गराउन विभागले आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्