१७ साउन २०८३, आइतबार
Tags

विराटनगरमा ८औँ महाकाँवर यात्रा भव्य तयारीमा, चार खोलाबाट जल सङ्कलन गरी निकालिने यात्रा

रणभूमी सम्वाददाता आइतबार, साउन १७, २०८३

विराटनगर / विराटनगर–८ स्थित अशोकचोकबाट यस वर्ष ८औँ महाकाँवर यात्रा भव्य रूपमा आयोजना गरिने भएको छ। श्रावण महिनाको अवसर पारेर आयोजना हुन लागेको उक्त धार्मिक यात्राको सम्पूर्ण तयारी तीव्र पारिएको यात्रा व्यवस्थापन समितिले जनाएको छ।

यात्रा व्यवस्थापन समितिका संयोजक राघव सहनीका अनुसार यसपटकको काँवर यात्रा विगतका वर्षहरूको तुलनामा अझ व्यवस्थित, अनुशासित र भव्य हुने गरी तयारी गरिएको छ। धार्मिक आस्थालाई थप सुदृढ बनाउने उद्देश्यले चार वटा छुट्टाछुट्टै समूह बनाएर सिंहिया खोला, केसलिया खोला, बुढीगंगा खोला र लोहन्द्रा खोलाबाट जल सङ्कलन गरिनेछ।

चारै खोलाबाट सङ्कलन गरिएको जललाई विधिपूर्वक शुद्धीकरण गरी विराटनगर–८ अशोकचोकस्थित बटकेश्वर महादेव मन्दिरबाट महाकाँवर यात्रा सुरु गरिने आयोजकले जनाएको छ।

बाजा–गाजा, भजन–कीर्तन तथा धार्मिक झाँकीसहित निकालिने यात्रामा करिब तीन हजार श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। यात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट आवश्यक स्वीकृति लिइएको समितिले जनाएको छ।

यात्राको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मार्गमा पर्ने सम्पूर्ण प्रहरी चौकीलाई पूर्वजानकारी गराइसकिएको आयोजकले जानकारी दिएको छ। श्रद्धालुहरूको सहज आवागमन, सुरक्षा तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको समितिको भनाइ छ।

श्रावण महिनामा भगवान् शिवप्रति आस्था राख्ने भक्तजनका लागि महाकाँवर यात्रा विशेष धार्मिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ। यस वर्ष पनि विराटनगरमा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षासहित धार्मिक उत्साहका साथ यात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्