रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३
मोरङ । मोरङको रंगेली नगरपालिका–५ स्थित ठाकुर टोलबाट प्रहरीले लागूऔषध हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असोज १८ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले रंगेली नगरपालिका–५ ठाकुर टोलस्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
ठाकुर टोलबाट भेउवाथानतर्फ पैदल जाँदै गरेका १८ वर्षीय कृष्ण कुमार पासवानलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट कालो रंगको प्लास्टिकको पोका–१, डिजिटल तराजु–१ थान र मोबाइल–१ थान फेला परेको प्रहरीले जनाएको छ।
प्लास्टिकको पोका खोली हेर्दा लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेपछि डिजिटल तराजुमा तौल गर्दा ९.३४ ग्राम रहेको पुष्टि भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका पासवानलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।