०७ बैशाख २०८१, शुक्रबार
Tags

लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ – मेयर कोइराला

रणभूमी डेस्क मंगलबार, बैशाख १२, २०८०

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।
लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले महानगरले विभिन्न संघसंस्थामार्फत हिंसापीडितका लागि काम गरिरहेको सुनाए । उनले आगामी वर्षको बजेटमा समेत महिला हिंसापीडितका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । “महानगर आफैंले गर्ने होइन, अन्य संघसंस्थामार्फत पीडितहरुको पक्षमा काम गर्ने हो,” कोइरालाले भने, “जुन एवीसी नेपालजस्ता संघसंस्थाहरुमार्फत काम गरिरहेका छौं ।” उनले महिला हिंसा रोकथाम र नियन्त्रणका लागि महानगर सधैं गम्भीर रहेको उल्लेख गरे । तीनै तहको सरकार र सामाजिक संघसंस्थासहित विभिन्न निकायको सहकार्यबाट मात्रै लैंगिक हिंसा रोकथाम र नियन्त्रण गर्न सकिने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महिला हिंसापीडितका लागि भनेर महानगरले छुट्टै बजेट नै छुट्याउने गरेको जानकारी दिइन् । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिइन् । २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उनको भनाइ थियो । कार्यक्रममा महिला हिंसा रोकथाम र नियन्त्रणका उपायका विषयमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए । परियोजनाअन्तर्गत ओखलढुंगा, उदयपुर र मोरङका ९ वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्