१५ बैशाख २०८१, शनिबार
Tags

सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु

रणभूमी डेस्क शनिबार, फाल्गुण १२, २०८०

विराटनगर / विराटनगर महानगर वडा नम्बर ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिए । उनले भौतिक पूर्वाधार सुधारपछि विद्यालयको गुणस्तर सुधार अभियान सुरु गरेको बताए । पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिए पनि दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
शिक्षा सुधार अभियानअन्तर्गत विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तरक्रिया गरिएको छ । विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिझावक, शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया कार्यत्रमहरू गरिरहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए । उनले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई नियमित विालय पठाउन, विद्यालयको निगरानी गर्न, आफ्ना बालबालिकाको पठनपाठनका विषयमा विद्यालयमा शिक्षकहरूसँग सोधपुछ गर्न अभिभावकहरूलाई आग्रह गरे ।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्रका विद्यालयहरूमा ७० हजार बालबालिकाले शिक्षा लिइरहेका छन् । जसमा संस्थागत विद्यालयहरूमा ५० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक विश्वस्त नहुँदा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी बढाउन अभिभावक बाध्य भएको भट्टराईले बताए । कार्यक्रममा अभिभापक सन्तोष साह, विद्यालयका प्रधानाध्यापक हरि पराजुलीलगायतका वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राजनीतिक दलहरू सक्रिय हुन आवश्यक रहेको धारणा राखेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्