रणभूमी सम्वाददाता मंगलबार, आषाढ ०९, २०८३
विराटनगर / आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा व्यवस्थापन र धनकुटा बहुमुखी क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विराटनगरस्थित होटल मनास्लु बर्गाछीमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट रानीका प्रहरी नायब निरीक्षक (सई) प्रवीण खड्काले सहजीकरण गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई ट्राफिक नियमको पालना, सडक सुरक्षाको महत्व, सवारी चालक तथा पैदलयात्रीले अपनाउनुपर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित यात्रासम्बन्धी विविध विषयमा जानकारी गराइएको थियो।
प्रहरी नायब निरीक्षक खड्काले ट्राफिक नियमको पालना गरेमा अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउँदै सबै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गरे। उनले सवारी चलाउँदा हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, निर्धारित गति कायम राख्ने तथा ट्राफिक संकेतहरूको सम्मान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ट्राफिक सुरक्षासम्बन्धी जिज्ञासा राख्दै सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
आयोजकले ट्राफिक सचेतना अभिवृद्धि गरी सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।