रणभूमी सम्वाददाता मंगलबार, आषाढ ०९, २०८३
विराटनगर / इलाका प्रहरी कार्यालय रानी, विराटनगर तथा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार एक कार्यक्रम सम्पन्न गरिएको छ।
मिति २०८३ असार ९ गते विराटनगर महानगरपालिका–१६ स्थित मिल्स माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई मानव बेचबिखनका विभिन्न पक्ष, यसको जोखिम, बच्ने उपाय तथा कानुनी व्यवस्थाबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रहरी प्रतिनिधिहरूले मानव बेचबिखन एक गम्भीर सामाजिक अपराध भएको उल्लेख गर्दै रोजगारी, शिक्षा, वैदेशिक अवसर तथा विभिन्न प्रलोभनको बहानामा हुने बेचबिखनका घटनाप्रति सचेत रहन आग्रह गरेका थिए। साथै सामाजिक सञ्जालको प्रयोग गर्दा अपरिचित व्यक्तिसँग सम्पर्क राख्दा विशेष सावधानी अपनाउन विद्यार्थीहरूलाई सुझाव दिइएको थियो।
सहभागी विद्यार्थीहरूले मानव बेचबिखनका संकेत, पीडितको पहिचान तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउनुपर्ने विषयमा जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो। आयोजकले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा अपराध नियन्त्रण तथा सामाजिक सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।