रणभूमी सम्वाददाता शनिबार, माघ १७, २०८२
विराटनगर / एभरेष्ट साइन्स सेन्टर नेपाल (ESCN) ले आयोजना गरेको पहिलो STEAM कार्यशाला तथा प्रतियोगिता र राष्ट्रिय विज्ञान प्रदर्शनी २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ।
विद्यालयस्तरका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) क्षेत्रमा व्यवहारिक ज्ञान र सिर्जनात्मकता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देशभरका विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत रोबो रेस, ब्याटल बोट्स, रोबो सकर, ड्रोन रेस, वाटर रकेट च्यालेन्ज, एग ड्रप च्यालेन्ज, विज्ञान प्रदर्शनी, खगोल विज्ञान र लाइभ साइन्स डेमो जस्ता विविध गतिविधिहरू सञ्चालन गरिएका थिए। यी गतिविधिहरूले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइतर्फ आकर्षित गरेको आयोजकले जनाएको छ।
विद्यार्थीहरूको हौसला र उत्साह बढाउन आयोजकले प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विभिन्न प्रतियोगितामा उत्कृष्ट नवप्रवर्तन र सीप प्रदर्शन गर्ने विद्यार्थीहरूले पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्।
एभरेष्ट साइन्स सेन्टर नेपालका अनुसार, यो कार्यक्रम विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय स्तरको STEAM प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको हो। कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक प्रयोग र टोलीगत कामको अनुभव प्रदान गरेको छ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, विज्ञान प्रयोगशाला तथा प्रविधि समूहहरूको सहकार्य रहेको थियो। आयोजकहरूले आगामी दिनमा STEAM आधारित कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।