
रणभूमी डेस्क सोमबार, जेठ १२, २०८२

विराटनगर / पतिको दीर्घायु, सुख, समृद्धि तथा पारिवारिक कल्याणको कामनासहित आज मिथिला क्षेत्रका महिलाहरूले श्रद्धा र भक्तिपूर्वक वट सावित्री पर्व मनाइरहेका छन्।
साँस्कृतिक तथा धार्मिक आस्थाले भरिएको यस पर्वमा विवाहित महिलाहरू बिहानैदेखि स्नान गरी नववस्त्र धारण गरी, सिँगारिएर वटवृक्ष (वरको रूख)को पूजा गर्दै उपवास बस्ने परम्परा छ। पूजामा बाँसको हातेपङ्खा, फलफूल, मिष्ठान्न, कुश, दूबो, अक्षता, लालीगुंठी, हरियो र रातो डोरो लगायतका सामग्रीको प्रयोग गरिन्छ।
हिन्दू धार्मिक विश्वासअनुसार वटवृक्षमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास रहने भएकाले त्यस रूखको पूजा गर्दा विशेष फल मिल्ने जनविश्वास छ। साथै, यस व्रतले दाम्पत्य जीवनमा स्नेह, समर्पण र समृद्धि थप्ने विश्वास पनि महिलाहरूमा रहँदै आएको छ।
सत्ययुगको एक प्रसिद्ध धार्मिक कथाका अनुसार, सावित्री नामकी पतिव्रता स्त्रीले आफ्नो मृत पति सत्यभानको प्राण यमराजबाट संकल्प, तपस्या र बुद्धिका माध्यमबाट फिर्ता ल्याउन सफल भएपछि, उनको श्रद्धा र समर्पणको प्रतीकस्वरूप यो पर्व मनाउने परम्परा सुरु भएको हो। भविष्य पुराणमा उल्लेख भएअनुसार, यस व्रतलाई नियमपूर्वक विधिपूर्वक गर्ने महिलालाई यमराजले पतिको दीर्घायुको वरदान दिने बताइन्छ।
वट सावित्रीको अवसरमा विराटनगरका काली मन्दिर, संसारी माईस्थान, हनुमान मन्दिरलगायत विभिन्न धार्मिक स्थलहरूमा रहेका वरवृक्षमुनि महिलाहरूको भीड लागेको देखिन्छ। पूजाका क्रममा केही महिलाहरू समुहमा भेला भई सावित्री र सत्यभानको कथा सुनिरहेका छन् भने केहीले शान्त वातावरणमा एक्लै पूजापाठ गरिरहेका छन्। कतिपय महिलाले यो पर्वलाई आफ्ना सासू-आमासँग बसेर पारिवारिक सद्भावका साथ मनाउने परम्परा पनि पछ्याइरहेका छन्।
धार्मिक र सांस्कृतिक महत्व बोकेको यस पर्वले महिलाहरूबीच भक्ति, समर्पण, सामाजिक एकता र परम्पराप्रतिको सम्मान झल्काउँछ।