१३ बैशाख २०८१, बिहिबार
Tags

गाउँका युवाहरुको प्रयासमा स्वास्थ चौकी सञ्चालन, निरन्तर्ता दिन जनस्वास्थ्य संग अनुरोध

जनसंख्या कै आधारमा भए पनि एउटा सरकारी स्तरको स्वास्थ्यकेन्द्र भए यहाका जनतालाई राम्रो हुने थियो

रणभूमी बिहिबार, साउन २१, २०७८

उदयपुर / श्रावण २१, उदयपुर जिल्लाको रौतामाई गा.पा. वडा नम्बर ४ पोखरी गाउँमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस फैलिन नदिन र कोरोनाले भयवाह स्थिती सृजना नगरोस भन्ने उद्देश्यले गाउँमा कोरोना महामारी नियन्त्रण तथा रोकथामको सम्बन्धमा स्थानियको प्रयासमा अभियान संचालन गरिएको हो । उक्त अभियान कार्यमा प्रत्यक्ष रुपमा पोखरी निवासी प्रकाश खत्रीले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण पोखरीबासीहरुसङ्ग आवश्यक समन्वय गरि रकम सङ्कलन कार्य गरेको हाे ।

रौतामाई गाउ पालिका वडा नम्बर ४ पोखरी गाउँ अरु वडा मध्य कै सबैभन्दा ठूलो र बढी जनसंख्या भएको गाउँ भएको कारण यहाँ लगभग ३०० घरधुरी सङ्ख्या रहेको छ । पोखरी गाउँ ठूलो भएता पनि यहाँ निजि तथा सरकारी कुनैपनी किसिमको स्वास्थ्यकेन्द्र नभएको र तत्काल कोहि बिरामी भएको खण्डमा भुट्टार लैजानु पर्ने बाध्यता रहेको छ ।

पोखरी गाउँमा स्वास्थ्य केन्द्रको आवश्यकता भई वडा कार्यालय हुँदै रौतामाई गाउँ पालिकाको कार्यालय भुट्टार उदयपुरमा समेत निवेदन दिईएको तर उक्त निवेदनको सकारात्मक प्रतिक्रिया र माग सुनुवाई नभएपछि स्थानिय अभियन्ताहरुले स्वास्थ्यकेन्द्रको बारेमा वडा नम्बर ४ का वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधीहरुलाई समेत सहभागी गराई कार्यक्रमको बारेमा जानकारी गराउदा समेत कुनैपनी किसिमको चासो नदेखाएको कारण गाउकै स्वदेश तथा बिदेशमा रोजगार गर्ने युवाहरुको सक्रीयतामा कोरोना महामारी नियन्त्रण अभियान संचालन गरीएको थियाे जसको फलस्वरुप स्वदेश तथा बिदेशमा रहेका समस्त पोखरीबासीहरु र साबिक पोखरी घर भई हाल विभिन्न स्थानमा बसाइँसराइ गएका व्यक्तिहरू बाट सहयोग
सहयाेग लिई स्वास्थ्य केन्द्र स्थानाको निम्ती रकम सङ्कलन गरेका छन् । जसबाट १ लाख ५७ हजार ४ सय रुपैयाँ सहयोग रकम सङ्कलन कार्य भएको थियो ।

उक्त प्राप्त भएको सहयोग रकमलाई गाउमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा “कोरोना महामारी नियन्त्रण समिती” गठन गरि पोखरी निवासी राजकुमार मल्लको अध्यक्षतामा १३ सदस्य कार्य समिती बनाई कार्य संचालन गरिएको थियो ।

सहयोगबाट सङ्कलित रकमबाट रौतामाई गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र बहादुर मगर, वडा सदस्यहरु र गाउँका बुद्दिजिबी तथा भद्रभलद्मिहरुको उपस्थितिमा एकजना सिएमए र अनमि गरेको स्वास्थ्यकर्मी करारमा नियुक्ती गरि मासिक १० हजार रुपैयाँ तलव दिने गरि जेष्ठ १ गते बाट अस्थायी स्वास्थ्य सेवा संचालन गरेको हो ।

उक्त स्वास्थ्य केन्द्रमा हाल सम्म ७३ हजार मूल्य बराबरको औषधि खरीद गरि ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, झाडा पखला जस्ता समस्या देखिएका बिरामीहरुलाई चेकजाँच गरि नि:शुल्क औषधीहरु बितरण कार्य भईरहको र स्यानिटाईजर, सर्जिकल मास्क समेत खरीद गरि बितरण गरिएको सञ्चालक समितिले बताएका छन् ।

सहयोग संकलन भएकै रकम बाट ज्वरो नाप्ने थर्मोमिटर, पिपिई र थर्मल गन पनि खरीद गरिएको र अन्य १५ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त भएको समितिले बताए । साथै बाकी रकम कोहि कसैलाई बिपद परे वा आर्थिक अवस्था कमजोरी भएका बिरामीलाई तत्काल बाहिर उपचार गर्न पठाउनु परे बचत रकमबाट सहयोग गरिने उद्येश्य का साथ सुरक्षित राखिएको छ ।

त्यति मात्र नभएर सेवा पोखरी गाउँ लगायत खोर्साने,बेल्टार र जरिथुम्काका मानिसहरुले समेत प्रत्यक्ष सेवा लिनु भएको र साधारण बिरामी भएको अवस्थामा भुट्टार, माल्बासे औषधि लिन जानुपर्ने समस्याबाट टाढा रहेको र सबैमा यो सेवाले खुशियाली छाएको गाउँलेहरु बताउछ्न ।

पोखरी गाउँका युवाले आफ्नै मेहनत र कमाईको केही हिस्सा रकम छुट्याएर सहयोग गरेको रकमबाट संचालित अस्थायी स्वास्थ्यकेन्द्रलाई निरन्तर रुपमा संचालन गर्न सकिँदैन यो सेवा निरन्तर सुचारु गराउन र एउटा स्वास्थ्यकेन्द्र स्थापना गराउन सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय उदयपुर र रौतामाई गाउँपालिका स्वास्थ्य केन्द्रको ध्यान पुग्नु आवश्यक रहेको । हाल यस गाउँमा कुनैपनी किसिमको सरकारी तथा निजि स्वास्थ्य केन्द्र नरहेको हुदा जनसंख्या कै आधारमा भए पनि एउटा सरकारी स्तरको स्वास्थ्यकेन्द्र भए यहाका जनतालाई राम्रो हुने थियो भनि रौतामाई गा.पा.४ पोखरी बस्ने रमेश कुमार नेपालीको भनाई रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्