०९ चैत्र २०८२, सोमबार
Tags

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री कार्कीबीच भेट, समसामयिक विषयमा छलफल

रणभूमी सम्वाददाता आइतबार, चैत्र ०८, २०८२

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

भेटमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा हालै सम्पन्न निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई ज्ञापन गर्नुभयो। उहाँले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै यसलाई महत्वपूर्ण उपलब्धि बताउनुभयो।

लामिछानेले प्रधानमन्त्रीको दृढता र अडानकै कारण विगतका निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको दाबी गर्नुभयो। सानो टोली र छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गरिएको भन्दै उहाँले प्रधानमन्त्री तथा सरकारप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि मार्गदर्शनको अपेक्षा राखेको बताउनुभयो।

प्रधानमन्त्री कार्कीले भने रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाई दिँदै देशप्रति जनताको अपेक्षा ठूलो रहेको बताउनुभयो। उहाँले युवाहरुले जिम्मेवारीपूर्वक काम गर्दै देशको अवस्था सुधार्नुपर्नेमा जोड दिनुभयो। चुनौतीका बीच इमान्दारीपूर्वक काम गरे अपेक्षित नतिजा हासिल गर्न सकिने उल्लेख गर्दै आलोचनाको जवाफ कामबाटै दिनुपर्ने सुझाव दिनुभयो।

भेटका क्रममा लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो। उहाँले सरकारलाई कार्यकालको अन्तिम समयसम्म पूर्ण क्षमताका साथ काम गर्न आग्रह गर्दै सरकारका सकारात्मक कदममा साथ रहने प्रतिबद्धता जनाउनुभयो।

यसैबीच, पोर्चुगलमा रहेका नेपाली विद्यार्थीले भोगिरहेका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि लामिछानेले चासो व्यक्त गर्नुभएको थियो। ती विषयमा सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिएको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्