१३ बैशाख २०८१, बिहिबार
Tags

शन्तिवनमा चैत्र २९ देखि बैशाख ४ गते सम्म हुनेछ विज्ञान मेला, ७७ वटै जिल्लाका २०० बढी स्टल

रणभूमी डेस्क आइतबार, माघ १५, २०७९

विराटनगर / एभरेस्ट साईन्स सेन्टर नेपालले २०७९ चैत्र २९ गते देखी २०८० वैशाख २ गते सम्म शन्तिवनमा विज्ञान प्रदर्शनी मेला लगाउने भएको छ ।

विज्ञान प्रविधिका विषयमा ज्ञान लिन काठमाडौं वा भारत नै जानुपर्ने बाध्यता अन्त्य गर्न सुनसरीको बर्जु गाउँपालिका (सीतागंज) मा विज्ञान मेला आयोजना हुने आयोजक डा.दिलीप अधिकारीले बताउनुभएको छ ।

विज्ञान सम्बन्धी विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने र विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने उद्देश्यका साथ आगामी चैत २९ गतेबाट बर्जु-५ शान्तिवनमा विज्ञान मेला आयोजना हुने अधिकारीले बताउनुभयो ।

साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको आर्थिक सहयोगमा चैत २९ र ३० तथा वैशाख १ र २ गते मेला आयोजना हुन आँटेको हो । शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताए ।

नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ। मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए।

विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन-अध्यापन हुने बताउँदै उनले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए।

मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ। त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ। सहभागी हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको छ।

मेलामा अनुमानित तीस हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लाग्ने जनाइएको छ।

मेलामा विभिन्न परिकारका खानाका स्टल रहने र साँझपख स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्