
रणभूमी डेस्क सोमबार, बैशाख २२, २०८२

बिराटनगर / इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा आज बिराटनगर महानगरपालिका-१७ स्थित न्यु मुन सेकेन्डरी बोर्डिङ स्कुलमा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएका प्रहरी नायब निरीक्षक सुवास अधिकारीले साइबर अपराधका प्रकार, यसबाट बच्ने उपाय र सचेतना अपनाउनुपर्ने विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए।
बिहान ११ बजे शुरु भएको कार्यक्रम मध्यान्ह १२ बजे समापन भएको थियो। कार्यक्रमका सहभागी विद्यार्थीहरूले साइबर सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र अनलाइन धोकाधडीबाट बच्ने उपायहरूबारे जानकारी प्राप्त गरेका छन्।
स्थानीय प्रहरी प्रशासनका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूलाई साइबर अपराधको जोखिमबाट बचाउन र समग्र समुदायमा साइबर सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।