
रणभूमी डेस्क शुक्रबार, जेठ १०, २०८२

विराटनगर / दलित महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ८ मा सिपमूलक गुडिया निर्माण तालिम सुरु भएको छ। बिहीबारदेखि सञ्चालनमा आएको यस तालिमले स्थानीय दलित महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने अपेक्षा गरिएको छ।
विराटनगर महानगरपालिका वडा नं. ८, समृद्ध समाज नेपाल र दलित महिला संघको संयुक्त आयोजनामा तथा वडा सदस्य पवित्रा विकको पहलमा सञ्चालित यस तालिमको औपचारिक उद्घाटन महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सिपमूलक तालिमहरू अत्यन्त आवश्यक रहेको बताइन्।
समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरूको आवश्यकता रहेको बताइन्। उनले समृद्ध समाजले विराटनगरमा यस किसिमका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले यस्ता कार्यक्रमहरूले समुदायका महिलाहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
तालिम उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम पोखरेल, वडा सदस्यहरू महम्मद अब्बास, भुवन राजवंशी, ताराकुमारी राय र पवित्रा विकको उपस्थिति रहेको थियो। साथै दलित महिला संघकी अध्यक्ष सर्मिला परियारसहित विभिन्न संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। बसन्ती गुरुङको सञ्चालनमा भएको कार्यक्रमको सभापतित्व समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले गरेकी थिइन्।
यस तालिममा वडा नं. ८ का २५ जना दलित महिलाहरूले सहभागिता जनाएका छन्। उनीहरूलाई गुडिया निर्माणका विभिन्न प्राविधिक सीपहरू प्रदान गरिनेछ। तालिमकी मुख्य प्रशिक्षक अनु श्रेष्ठले सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप हस्तान्तरण गर्नेछिन्।
कार्यक्रममा सहभागीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यसले आफूहरूको आर्थिक अवस्था सुधार गर्न सहायक हुने आशा व्यक्त गरे। यस तालिमले दलित महिलाहरूमा उद्यमशीलताको विकास गर्दै उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ। गुडिया निर्माणको सीप सिकेपछि महिलाहरूले घरमै बसेर आय आर्जन गर्न सक्नेछन्।