
रणभूमी डेस्क बुधबार, बैशाख १०, २०८२

विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच आज एक समझदारी-पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार कोशी प्रदेशमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरिने छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा आज कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित समारोहमा उक्त समझदारी-पत्रमा हस्ताक्षर गरिएको हो।
प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा (प्रथम पक्ष) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (दोस्रो पक्ष) बीच समझदारी-पत्रमा हस्ताक्षर भएको हो। यो समझदारी प्रहरी सेवालाई सम्मान गर्दै बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने उद्देश्यका साथ गरिएको छ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउन समाजका विभिन्न संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरिदै आएको बताए। “आफ्नो घरपरिवार नभनी अहोरात्र खटिने व्यावसायिक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पूर्ण पदाधिकारीहरुलाई हृदयदेखि आभार व्यक्त गर्दछु,” उनले भने।
कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले व्यवस्थित तवरले चलिरहेका विद्यालयहरुसँग समन्वय र सहकार्य गर्ने विषयमा अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, सिनियर प्रहरी अधिकृतहरू तथा प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा, केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याब्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
यस सम्झौताले कोशी प्रदेशमा कार्यरत प्रहरी कर्मचारीहरूका परिवारमा शैक्षिक अवसर वृद्धि गर्नुका साथै प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने अपेक्षा गरिएको छ।