
रणभूमी डेस्क सोमबार, जेठ ०६, २०८२

विराटनगर / इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज एक महत्वपूर्ण सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. १५ स्थित ग्लोबल एकेडेमी विद्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
दिउँसो ११:३० बजे शुरू भएको कार्यक्रममा लागुऔषध दुर्व्यसनको बढ्दो समस्या र यसबाट बच्ने उपायहरूबारे विशेष जानकारी प्रदान गरिएको थियो। प्रहरी नायब निरीक्षक सुभाष अधिकारीले लागुपदार्थको प्रयोगबाट हुने स्वास्थ्य सम्बन्धी जोखिमहरू, कानूनी परिणामहरू र विद्यार्थीहरूले यस्ता पदार्थहरूको प्रयोगबाट कसरी टाढा रहन सक्छन् भन्ने बारेमा जानकारी दिए।
समुदाय-प्रहरी साझेदारी अन्तर्गत आयोजित यस कार्यक्रमले युवावर्गमा लागुऔषधको प्रयोग र दुर्व्यसनबारे जागरूकता बढाउने उद्देश्य राखेको बताइएको छ। कार्यक्रम दिउँसो १२:३० बजे सम्पन्न भएको थियो।
इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक कविन राईले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा अन्य विद्यालयहरूमा पनि निरन्तरता दिने जानकारी दिए।