
रणभूमी डेस्क मंगलबार, जेठ ०७, २०८२

बिराटनगर / इलाका प्रहरी कार्यालय रानी (सिमा) र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा आज बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित श्री मनकामना इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध र साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ।
कार्यक्रममा स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी (सीमा)का प्रमुख सुभाष अधिकारीले लागु औषधको दुष्प्रभाव र यसले युवा पुस्तामा पार्ने असरबारे विस्तृत जानकारी प्रदान गरेका थिए।
त्यसैगरी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिले बढ्दो साइबर अपराध र यसबाट बच्ने उपायहरूको बारेमा विद्यार्थीहरूलाई अवगत गराए। विशेषगरी सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी र व्यक्तिगत जानकारीको सुरक्षाबारे महत्वपूर्ण सल्लाह दिइएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्ने र प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए। विद्यालयका प्रधानाध्यापकले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समाजमा हुने विभिन्न प्रकारका अपराधबाट सचेत रहन मद्दत पुग्ने बताए।
कार्यक्रमको अन्त्यमा इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक कविन राईले लागुऔषध र साइबर अपराध नियन्त्रणमा विद्यार्थी तथा युवाहरूको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताउँदै समाजलाई स्वस्थ र सुरक्षित बनाउन सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिए।