०९ जेठ २०८२, बिहिबार
Tags

कोशी प्रदेशमा पहिलो पटक ‘सीप उत्सव २०८२’ आयोजना हुँदै

रणभूमी डेस्क बिहिबार, जेठ ०९, २०८२

विराटनगर / रोजगारदाता र रोजगारी खोज्ने मानव संशाधनबीचको खाडल पुर्ने उद्देश्यका साथ कोशी प्रदेशमा पहिलो पटक ‘सीप उत्सव २०८२’ आयोजना हुन लागेको छ। उद्योग संगठन मोरङको आयोजनामा जेठ १० र ११ गते विराटनगरमा हुने यो उत्सवले उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने लक्ष्य राखेको छ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन् कि वर्तमानमा उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संशाधन र बजारमा उपलब्ध जनशक्तिमा मिसम्याच देखिएको छ। यस समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक, उद्योग प्रतिष्ठान, सरकारका सरोकारवाला पक्ष र प्रशिक्षार्थीहरूबीच समन्वय बढाउने उद्देश्यले यो उत्सव आयोजना गरिएको हो।

यो कार्यक्रम ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)’ अन्तर्गत नेपाल र स्वीस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित हुन लागेको छ। हेल्भेटासले प्राविधिक सहयोग प्रदान गर्नेछ भने सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले समन्वयको जिम्मेवारी लिएको छ।

प्रारम्भिक चरणमा वैशाख २२ देखि ३० गतेसम्म झापा, मोरङ र सुनसरी जिल्लाका ७ वटा प्राविधिक शिक्षालयमा आन्तरिक प्रतिस्पर्धा सम्पन्न भएको छ। सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन क्षेत्रमा भएको प्रतिस्पर्धामा प्रथम र द्वितीय स्थान हासिल गर्ने कुल १८ जना प्रतिस्पर्धीलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ। सूचना प्रविधिमा १० जना, अटोमोबाइलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी कुल १८ जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। विजेताहरूलाई ‘कोशी प्रदेश स्किल आइकन’ को उपाधि प्रदान गरिनेछ।

उत्सवको मुख्य आकर्षणका रूपमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा लाइभ तालिम आयोजना हुनेछ। यसैगरी १००० भन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सिलिङ सत्रहरू आयोजना गरिएको छ। उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूले युवाहरूलाई प्रेरणा, वृत्ति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछन्।

जेठ १० गते शनिबार र ११ गते आइतबार दुई दिनसम्म चल्ने यो उत्सव उद्योग संगठन मोरङको सचिवालय तीनपैनी, विराटनगरमा आयोजना हुनेछ। पहिलो दिन बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म अन्तर शिक्षालय सीप प्रतिस्पर्धा, लाइभ तालिम र वृत्ति परामर्श हुनेछ। दोस्रो दिन बिहान ८:०० देखि ११:३० बजेसम्म अन्तिम सीप प्रतिस्पर्धा र पुरस्कार वितरण हुनेछ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन्।

अध्यक्ष सुरानाले यो उत्सवले प्रदेशमा सीपयुक्त जनशक्ति विकासमा टेवा पुर्याउने मात्र नभएर उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताएका छन्। उनले यो प्रोटोटाइप मोडेलले शिक्षा र सीपलाई रोजगारीसंग जोड्ने, व्यवहारिक सीपमा आधारित सिकाइ प्रवर्द्धन गर्ने र उद्योग-शिक्षा सहकार्यको नमूनाको रुपमा प्रस्तुत गर्ने बताएका छन्। उनले सञ्चारकर्मीहरूलाई कार्यक्रमको प्रभावकारी प्रचार प्रसार र सहभागिताका लागि अनुरोध गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्