१४ बैशाख २०८१, शुक्रबार
Tags

मैथिलीमा सपथ लिएर समुदायमा प्रसंशाको पात्र बने सामाजीक विकास मन्त्री जयराम यादव

रणभूमी मंगलबार, कार्तिक १६, २०७८

विराटनगर / प्रदेश एकका नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले मैथिली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

मंगलबार दिउसो नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसंगै सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएका यादवलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ ग्रहण गराउनुभएको थियो । सो क्रममा उहाँले आफ्नो मातृभाषा मैथिलीमा सपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपत्र नेपाली भाषामै टाईपगरि ल्याइएपनि मन्त्री यादवले प्रदेश प्रमुख ‘प्यासी’ सामु आफुले आफ्नो मातृभाषामै सपथ ग्रहण गर्ने बताउनुभएको थियो । पछि सपथपत्रलाई आफैले भाषा रुपान्तरणगरि मन्त्री यादवले मैथिलीमा सपथ ग्रहण गर्नुभएको उहाँका स्वकिय सचिव राकेश रोसन यादवले जानकारी दिनुभयो ।

मन्त्रीको सपथ ग्रहणगरि आफ्नो निवासस्थल विराटनगर १४ जतुवातर्फ फर्किनुभएका यादवले आफ्नो घर पुग्नुअघि सबभन्दा पहिले आफ्नो ग्राम देवताको दर्शन गर्नुभएको थियो भने स्थानिय लक्ष्मी नारायण मन्दिर र रामजानकी मन्दिर समेत पुग्नुभएको थियो । यसैगरि विराटनगर १४ कै बैरबना चौकमारहेको शहिद सदानन्द यादव र राजकुमार कामतको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो । त्यसलगत्तै मन्त्री यादव क्याबिनेटको पहिलो बैठकमा सहभागि हुन मन्त्रीपरिषदको कार्यालय जानु भएको थियो । नेता यादव जनता समाजबादी पार्टी नेपालबाट प्रदेश एक सरकारको प्रतिनिधित्व गरिहरनुभएको छ भने नवगठित मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, कांग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । भाषा आयोगले केहि समयअघि सातै प्रदेशकालागि सरकारी कामकाजमा नेपाली भाषाबाहेक प्रयोग हुने सक्ने भाषाहरुको सिफारिस गरिसकेको छ । जसअनुसार प्रदेश एकमा मैथिली र लिम्बू, प्रदेश दुईमा मैथिली, भोजपुरी र बज्जिका, बागमती प्रदेशमा तामाङ र नेवारी, गण्डकी प्रदेशमा मगर, गुरुङ र भोजपुरी, लुम्बिनीमा थारू र अवधी, कर्णालीमा मगर तथा सदूरपश्चिममा डोट्याली र थारू भाषा सिफारिस गरिसकेको छ ।
साभार : www.birattimes.com

यहाँ कमेन्ट गर्नुहोस्